इन्डोनेसियामा भूकम्प तथा सुनामी : मृत्यु हुनेको संख्या ४०८ पुग्यो

कठमाडौं, असोज १४ । शक्तिशाली भूकम्प तथा सुनामीका कारण चार सय भन्दा बढीको ज्यान गएको इन्डोनेसियाको सुलावेसी आइल्याण्डमा लगातार शक्तिशाली परकम्प आइरहेका छन् ।

लगातार आइरहेका परकम्पका कारण जनजीवन थप प्रभावित भएको छ । शुक्रबार गएको ७।५ म्याग्निच्युडको भूकम्प र त्यसका कारण आएको सुनामीले गर्दा ज्यान गुमाउनेको संख्या कम्तिमा ४०८ पुगेको छ । पाँच सय भन्दा बढी घाइते भएका छन् ।

भूकम्प तथा सुनामीका कारण बढी प्रभावित भएको पालु शहरमा भत्किएका घरमा अझै धेरै मानिस पुरिएको आशंका छ । लगातारको परकम्पका कारण उद्धार तथा राहतको काम प्रभावित भएको छ ।

पालु शहर भन्दा बाहिर भएको क्षतिको विवरण अझै आएको छैन । अस्पतालसहितका संरचनामा क्षति पुगेका कारण उपचारमा पनि समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्