निर्मला हत्या प्रकरणः समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

काठमाडौं, असोज १३ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ ।
निर्मला पन्तको न्यायका लागि स्वतः स्फूर्त रुपमा शनिबार मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।
घटनाको दुई महिना भइसक्दा पछि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकार विरुद्ध नाराबाजी गरे ।
छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनीकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।
गृहमन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाईसकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्