काठमाडौं, असोज । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१६ पत्थरखोलामा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३२ जना घाईते भएका छन् । बर्दियाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५६२९ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रक आज बिहान ठोक्किँदा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक बाँकेको कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का २४ वर्र्षीय लक्ष्मण थारूको मृत्यु भएको हो ।
ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
चङ्गा उडाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ ।
स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए ।
चङ्गा उडाएर खेलिरहेका बालक पुन चङ्गा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए । पोलमा चढ्ने बित्तिकै उनी नाङ्गो तारमा अड्किएको प्रहरीको भनाइ छ ।
गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नाङ्गो तारमा अड्किएका बालकलाई बाहिर निकालिएको थियो ।
मृतक बालकको शव पोष्टमार्टमको लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्