काठमाडौं, असोज १३ । नेपालसँग ‘शुन्य लागत’मा कामदार लिन मलेसिया सहमत भएको छ । दुई देशका अधिकारीबीच क्वालालम्पुरमा शुक्रबार भएको वार्तामा यस्तो सहमति भएको हो ।
औपचारिक श्रम सम्बन्ध सुरु भएको करिब १७ बर्षपछि श्रम सम्झौताको मस्यौदाले अन्तिम रुप पाएको छ । अब चाँडै श्रम सम्झौताको मिति तय गरी हस्ताक्षर हुने नेपाली दुताबासले जनाएको हो ।
दुई देशका प्रतिनिधिमण्डलबीच मलेसियाली मानव संशाधन मन्त्रालयमा भएको बैठकमा कामदार मलेसिया पठाउँदा लाग्ने सम्पूर्ण खर्च र कामदार मलेसिया आउँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कसमेत मलेसियाली रोजगारदाताहरुले नै ब्यहोर्नेलगायत महत्वपूर्ण विषयहरु मस्यौदामा समावेश गरिएको छ ।
छलफलमा सहभागी नेपाली कार्यवहाक राजदूत कुमारराज खरेलका अनुसार कामदारका हितमा हुने सामाजिक सुरक्षा, स्वास्थ्यलगायतका विषय मस्यौदामा समावेश भएको छ । खरेलका अनुसार मलेसिया आउने नेपाली कामदारलाई पारिएको ‘अधिकांश’ आर्थिक भार अब हट्ने छ ।
यससँगै कामदार मलेसिया आउँदा लाग्ने हवाईटिकट, भिसा शुल्क र स्वास्थ्य परीक्षणलगायतका खर्च पनि मलेसियाली रोजगारदाताले नै ब्यहोर्ने विषय मस्यौदामा समावेश गरिएको बताइएको छ ।
कामदारको हितमा महत्वपूर्ण मानिएका धेरैजसो विषयहरु मस्यौदापत्रमा समावेश भएको छ’ खरेलले कान्तिपुरसित भने, ‘कामदार नेपालबाट आउँदा लाग्ने आर्थिक खर्च सबै रोजगारदाताले नै ब्यहोर्ने भएका छन् ।
यसलाई महत्वपूर्ण मान्नुपर्दछ ।’ उनका अनुसार मस्यौदामा कामदारका हितमा हुने सामाजिक सुरक्षा, स्वास्थ्यलगायतका विषय समावेश गरिएका छन् । मलेसियाले गत सन् २००१ देखि औपचारिक रुपमा नेपाली कामदार लिन थालेको हो। -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्