काठमाडौं, असोज १३ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती –१६, मा शनिबार बिहान साढे ३ बजे बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् ।
घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६ २९ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र बर्दिया वाणगंगा गाउँपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको ज्यान गएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा अहिले सडक अवरुद्ध भएको छ । घाइतेहरुको विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्