काठमाडौं, ११ असोज । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कारवाही गरिएको दावी गरेका छन् । गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको दावी गरे ।
बिहिबार महिला हिंसा न्यूनिकरण सम्बन्धी सरकारको काम कारवाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उनले बाँकी १० प्रतिशत घटनाका दोषीलाई पनि छिट्टै कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याए ।
गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न ढिलाई नहुने आश्वासन पनि दिए । उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानविनमा त्रुटि गर्नेमाथि कार्वाही गरेको पनि समितिलाई स्मरण गराए । गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे ।
गृहमन्त्री थापाले समितिसमक्ष विगत ५ महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दावी पनि गरे ।
बैठकमा समितिका सदस्यहरुले बढ्दो महिला हिंसा नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारलाई सुझाव दिए । समितिकी सदस्य गंगा चौधरीले फाँसीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।
बैठकमा समितिका सदस्यहरुले महिला हिंसाका दोषीलाई कार्वाहीको दायरामा ल्याउने काममा गम्भिर बन्न पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । विगत ५ महिनायता नेपालमा महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्