चिया उद्योग बन्दको आन्दोलन गरेका मजदुरको आन्दोलन फिर्ता

काठमाडौं, असोज ११ । चिया मजदुरले अनिश्चितकालिन चिया उद्योग बन्दको आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्।
असोज १० गते बुधबारदेखि झापाका सम्पूर्ण चिया उद्योग तथा कारखाना अनिश्चितकालीन बन्द गर्ने पूर्व घोषित आन्दोलनको कार्यक्रम तत्काललाई फिर्ता लिइएको बताइएको छ।
श्रम ऐनले तोकेको ज्याला पाउनुपर्ने मागसहित मजदुरहरु आन्दोलनमा उत्रिएका थिए। चाडपर्वको नजिकमा चिया मजदुरहरू चिया उद्योग बन्द गर्न लागेपछि चर्किएको विवाद समाधानका लागि जिल्ला समन्वय समिति झापाले पहल सुरु गरेपछि हाललाई आन्दोलन फिर्ता लिइएको मजदुरका संगठनहरुले जनाएका छन्।
मंगलबार समन्वय समिति झापामा बसेको सर्वदलीय बैठकले चिया मजदुरले उठाएका माग नेपाल सरकारले जारी गरेको राजपत्रमै प्रकाशित भइसकेकोले सोही बमोजिम ज्याला कार्यान्वयन गराउनेमा निर्णय गरेपछि मजदुरहरुले तत्काललाई आन्दोलन फिर्ता लिएको समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए।
बैठकमा चिया उद्योगीहरूले सरकारले तोकेको ज्याला दिने पक्षमा असहमति जनाएपछि पहिलो चरणको वार्ता्बिना निष्कर्ष टुंगिएको जिसस अध्यक्ष पोर्तेलले बताए।
स्थायी मजदुरको हकमा सरकारले तोके अनुसार ज्याला उपलब्ध गराउन चिया उद्योगी राजी भए पनि अस्थायी र मौसमी मजदुरको हकमा भने उक्त प्रावधान कार्यान्वयन गर्न नसकिने अडानमा छन्।
प्रतिक्रिया दिनुहोस्