बलात्कारकाे प्रयासपछि बेहाेश भएकी श्रेयाको ढुंगाले हानेर हत्या, आरोपी समातिए

काठमाडौं, असोज १० ।  पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया विक (सुनार)को हत्याको आरोपमा प्रहरीले बालिकाका छिमेकी कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो पत्रकार सम्मेलन गरी कास्की प्रहरीले पौडेललाई सार्वजनिक गरेको हो ।

२७ वर्षीय अभियुक्त पौडेलले बलात्कार प्रयासमा बालिकाले प्रतिकार गरेपछि हत्या गरेको स्वीकार गरेको पनि प्रहरीले जनाएको छ ।

साथीहरुसँग मदिरा सेवन गरेका पौडेलले बालिकालाई एक्लै देखेपछि पैसा दिएर फकाउन खोजेको र बालिकाले नमानेपछि नजिकै रहेको पानीट्यांकीमुनि धकेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

उनले फेरि जबर्जस्ती गर्न खोज्दा बालिकाले चिच्याएपछि दुवै हातले घाँटी थिचेको र बालिका बेहोस भएपछि ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ ।

बालिकाको हत्यापछि उनी पुनः भट्टीमा पुगेर मदिरा सेवन गरेको पनि प्रहरीको भनाइ छ ।

गत सोमबार स्कुलबाट फर्केपछि बिस्कुट किन्न पसल गएकी श्रेया सुनारलाई मदिराले लठ्ठिएका पौडेलले बलात्कार प्रयासपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानै उनको शव अर्धनग्न अवस्थामा झाडीमा भेटिएको थियो ।

कास्की प्रहरीले पत्रकार सम्मेलनमार्फत् अभियुक्त पौडेललाई सार्वजनिक गरिरहँदा स्थानीय वासिन्दाले भने दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्