कांग्रेस सांसदले मागे गृहमन्त्री थापाको राजीनामा

काठमाडौं, असोज १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
मुलुकभर श्रृंखलावद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गइरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।
कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भइरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति गम्भिर आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन ।
उनले भनीन, ‘यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन । म निवेदन गर्न चाहन्छु । यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मिता माथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भइसकेको छ ।’
एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दिन प्रतिदिन हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारबाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भिर आपत्ति जनाइन । उनले भनीन, ‘बिडम्बना छ । यो सरकार । यो शासनकालमा अपराधी त कानुनसँग डरायो न सरकारसँग डरायो ।’
उनले हिंसा नियन्त्रणमा प्रतिपक्षी दलले सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताइन । उनले महिला हिंसाका घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन ।
उनले महिलाविरुद्धका हिंसा र अस्मितामा प्रश्न चिन्ह खडा भएको उल्लेख गरिन । ‘
उनले दसैँ तिहारको बीचमा मूल्य वृद्धि गरेर सरकारले गरिब नागरिकको ढाड सेक्न काम गरेको आरोप लगाइन । गरिब नागरिकले दसैँ तिहार नबनाउनका लागि सरकारले इन्धन, यातायात, खाद्यान्न र करको दायरा बढाएको भन्दै उनले सर्वत्र छाएको मूल्यवृद्धि आफूहरुलाई स्वीकार्य नहुने चेतावनी पनि दिइन।
प्रतिक्रिया दिनुहोस्