काठमाडौं, असोज ९ । एसिड आक्रमणबाट गम्भीर घाइते भएर उपचारको क्रममा आइतबार राति ज्यान गुमाएकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको परिवारलाई प्रदेश २ सरकारले थप तीन लाख राहत दिने निर्णय गरेको छ ।
तीजको दरखाने राति सम्झना र उनकी बहिनी १५ वर्षकी सुस्मितालाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो । यस अघि प्रदेश सरकारले दिदी बहिनीको उपचार स्वारुपम १ लाख दिने निर्णय गरेको थियो ।
पीडित परिवारलाई ‘बेटी पढाउ बेटी बचाउ’ अभियानबाट थप तीन लाख दिने निर्णय गरेको जनाइएको छ । एसिड खन्याउने घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय तथा कानुनी रायसहित लिखित प्रतिवेदन १५ दिन भित्र पेश गर्न मुख्यनायधिवक्ता दिपेन्द्र झालाई निर्देशन समेत प्रदेश सरकारले दिएको छ ।
एसिड प्रहार गरेको आरोपमा प्रहरीले छिमेक रामबाबु पासवानलाई पक्राउ गरेको छ । बहिनी सुस्मिताको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्