आजदेखि दशैँका लागि अग्रीम टिकट बुकिङ खुला

काठमाडौँ, असोज ९ ।  दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आजदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको छ।
भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सोमबार बसेको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।
महासङ्घका महासचिव पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि मंगलबारदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिए।
महासंघले दसैंमा राजधानी बाहिर जाने र आउने यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाउन अनुगमन, टिकट काउन्टर व्यवस्थापनलगायतका समिति पनि बनाएको छ।
वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सरोज सिटौला सदस्य सचिव रहेको अनुगमन समितिले यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाएरनबनाएको अनुगमन गर्ने पनि महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।
त्यसैगरी टिकट काउन्टर व्यवस्थापन समितिले टिकट वितरणको उचित व्यवस्था गर्नेछ।
प्रतिक्रिया दिनुहोस्