काठमाडौं,असोज ९ । नेपाल आयल निगमले आफैँले पेट्रोलियम पदार्थ ढुवानीको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।
निगम सञ्चालक समितिले वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र निगमका प्रवक्ता वीरेन्द्र गोइत सदस्य छन् ।
समितिले निगम आफैँले ट्याङ्कर सञ्चालन गर्न आवश्यकपर्ने प्राविधिक विषयवस्तुका सम्बन्धमा विस्तृत अध्ययन गर्ने निगमका प्रवक्ता गोइतले जानकारी दिए ।
समितिले इन्धन ढुवानीमा निजी क्षेत्रका एकाधिकार अन्त्य गर्न आफैँले ट्याङ्कर सञ्चालन गर्न उपयुक्त हुने÷नहुने बारेमा पनि अध्ययन गर्नेछ ।
हाल निगमसँग इन्धन ढुवानी गर्ने ट्याङ्कर छैन । निजी क्षेत्रका ट्याङ्करले नै इन्धन ढुवानी गर्दै आएका छन् ।
निगमको स्वामित्वमा इन्धन ढुवानी गर्ने ट्याङ्कर नहुँदा निजी क्षेत्रका ट्याङ्कर चालकले विभिन्न माग राख्दै पटकपटक इन्धन ढुवानीमा अवरोध गर्दै आएका छन् ।
निगमले ट्याङ्कर चालकको माग पूरा गरे पनि केही दिनअघि पुनःविभिन्न माग राख्दै इन्धन ढुवानीमा अवरोध गर्दा पेट्रोलियम पदार्थको वितरणमा असहज अवस्था सिर्जना भएको थियो ।
एक्कासी पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले गत शुक्रबारका लागि सवारी साधनका लागि कोटा प्रणालीसमेत लागू गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्