फेरी बलत्कारः झापाका चार वर्षीया बालिका र काठमाडौं आरुबारीका २८ वर्षीय युवती बलात्कृत

काठमाडौं, ८ असोज । झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । बालिका र युवकको घर सँगसँगै रहेकाले युवकको नाम खुलाउन नमिल्ने प्रवक्ता बस्नेतले बताउनुभयो ।

प्रहरीका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई साइकलमा राखेर युवकले घुमाउन लगेका थिए । नाताले मामा पर्ने युवकले घुमाउन लगेको मौका छोपी जलथलको जङ्गलमा बालिकालाई बलात्कार गरेका थिए ।

अपराह्न घर फर्किएकी बालिकाको योनीमा रगत देखेपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले आइतबार राति नै युवकलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । यसअघि गत साउन २० गते झापाकै अर्जुनधारा नगरपालिका वडा नं २ मा छिमेकी १५ वर्षीय युवकले चार वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।

त्यस्तै काठमाडौंको सिमलटार स्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी छन् । मानसिक रोगी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी हुन् ।

उनलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।

युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार तामाङले बयानमा आफ्नो कसुर स्वीकारेका छन् । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्