नेपाल र भारतका पर्यटन व्यवसायीबीच १३ बुँदे सहमति
काठमाडौं , असोज ७ । नेपाल र भारतका पर्यटन व्यवसायीबीच दुवै देशको पर्यटन व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्ने सहमति भएको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) र भारतको ईस्टर्न हिमालय ट्राभल्स एण्ड टुर अपरेटर्स एसोसिएसन (ईथ्वा) बीच दुवै देशको पर्यटन विकास गर्ने विषयमा भारतमा सम्झौता भएको हो ।
गत शुक्रबार नेपाल र भारतका पर्यटन व्यवसायी संस्थाहरुबीच दुवै देशमा पर्यटन प्रवर्द्धन गर्ने विषयमा भारतको सिलिगुडीमा सम्झौता भएको थियो ।
सिलिगुडीको एक होटलमा दुवै देशका पर्यटन व्यवसायीले आ–आफ्नो देशको पर्यटन प्रवर्द्धन गर्ने र दुवै देशको सुविधाको लागि संयुक्त कार्ययोजना बनाइ आगडि बढ्ने विषयमा १३ बुँदे सहमति भएको नाटाका १ नम्बर प्रदेश महासचिव नविन खरेलले जानकारी दिए ।
सहमतिपत्रमा नेपालका तर्फबाट नाटाका प्रदेश नम्बर १ का अध्यक्ष भुपालराज श्रेष्ठ र महासचिव नविन खरेलले हस्ताक्षर गरेका छन् भने भारतका तर्फबाट ईथ्वाका अध्यक्ष देवाशिष मैत्रा र सचिव सन्दिपन घोषले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिले दुबै देशको पर्यटकिय क्षेत्र र होटल व्यवसायका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका दक्षिण एसिया क्षेत्रका प्रवन्धक नविन पोखरेलले यो सम्झौताले दुबै देशको पर्यटन व्यवसायको उन्नतिका लागि थप एउटा ईटा थपेको बताए ।
यो सम्झौताबाट नेपालले ठुलो फाईदा लिन सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्