काठमाडौँ, ७ असोज । दसैँका लागि अग्रिम टिकट बुकिङ्ग आइतबारदेखि खोलिने भनिए पनि अन्यौल भने कायमै छ । व्यवसायीको माग अनुसार भाडा बढाए पनि दसैँका लागि अग्रिम टिकट बुकिङ्ग खुलाउने बारेको अन्यौल कायमै रहेको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले यसबारे विभागको पत्र पाएपछि सोमबार बैठक बसेर मात्रै टिकट बुकिङ्गबारे औपचारिक निर्णय गर्ने भएको छ ।
भाडा बढाउन नपाए दसैँका लागि अग्रिम टिकट बुकिङ्ग नखोल्ने बताएका यातायात व्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएको सरकारले वैज्ञानिक भाडादरका नाममा छटपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको हो ।
यसका लागि शनिबार नै ३ सदस्यीय समिति गठन गरिएको छ । समितिले दुई महिनामा नयाँ भाडादर सिफारिस गर्नेछ ।
शनिबार बढेको भाडा इन्धनमा भएको मूल्यबृद्धिका आधारमा मात्र निर्धारण गरिएकाले वैज्ञानिक भाडादर निर्धारण गर्न समिति गठन गरिएको सरकार र यातायात ब्यवसायीको दाबी छ ।
उनीहरुका अनुसार इन्धनसंगै, लुब्रिकेण्ट्समा बढेको भाउ, गाडीमा बढेको कर लगायत जोडेर नयाँ भाडादर निर्धारण गरिनेछ ।
सिण्डिकेट हटाएको र सबै यातायात समिति खारेज गरेको दावी गर्ने सरकारले यातायात व्यवसायी राष्ट्रिय महासंघसंग वार्ता गरी भाडा बढाउने सहमति दिएको हो । बढेको भाडा आइतबारदेखि लागु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्