३ सय ४० बोरा सिमेन्ट चोरीएपछि खानेपानी मन्त्रालयको विज्ञप्ति

काठमाडौं,६ असोज ।  मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री भएको भन्ने घटनाको सम्बन्धमा खानेपानी मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले यस घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारबाही गर्न र अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयमा नै सम्पन्न गर्न सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन दिएको छ ।
‘राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यको सम्बन्धमा देखिएको यस किसिमको लापरवाही प्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसी थप जिम्मेवार भई कार्य गर्न मन्त्रालयको तर्फबाट सचेत गरिन्छ । आयोजनाको काम समयमा सक्नुपर्ने जिम्मेवारीलाई आत्मसात गरी निर्माण कार्य अघि बढाउन मन्त्रालय र सम्बन्धित निकाय दिनरात लागि परेको सन्दर्भमा यस किसिमको घटना हुनु दुःखद कुरा हो,’ खानेपानी मन्त्रीका स्वकीय अधिकृत विजयदेव भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्