काठमाडौं, ४ असोज । गएको भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहिताको बिरोधमा सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् ।
नयाँ ऐनले चालकहरुलाई मनपरी थुन्ने र दुःख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।
चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।
नयाँ मुलुकी संहितामा चालकको लापरवाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको विरोधमा यातायात मजदुरहरु हड्तालमा उत्रिएका हुन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।
कास्कीको पोखरामा कालो नम्बर प्लेटका बसहरू यातायात मजदुरहरूले चल्न दिएका छैनन् । गाडी नपाउँदा यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् । हरियो नम्बर प्लेटका पर्यटक बसहरु भने चलिरहेका छन् ।
भित्री सडकहरुमा नगरबसहरु केही चले पनि मुख्य सडकहरुमा गाडीहरु बन्द छन् ।
प्रतिक्रिया दिनुहोस्