तक्मा वितरण राणाकालीन र पञ्चायती शैलीमै

काठमाडौं, असोज ४ ।    संविधान दिवशमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापान भएर कार्यान्वयनमा आएको ३ वर्ष पुग्यो। तर तक्मा वितरणमा पञ्चायती र राणाकालीन शासनको झल्को भने हटेको छैन।
सरकारले संविधान दिवसमा बुधवार ५ सय १८ जनालाई विभूषित गरेको छ। तिनमा दूरदराजमा रहेर राष्ट्रसेवा गरेकाको संख्या अत्यन्त न्यून छ। ‘न कुनै मापदण्ड छ, न कुनै आधार’, प्राध्यापक लोकराज वरालले यसमा टिप्पणी गरे, ‘आसेपासेलाई खुशी पार्न र भजनमण्डली वढाउन तक्मा वितरण गरिएको छ। अहिलेका शासकहरूको हाउभाउ र चरित्र पञ्चायतलाई बिर्साउने खालको देखिदै छ।’
विभुषण ऐन २०६४ मा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मुुलुकका तर्फवाट कदर तथा सम्मान स्वरुप मानपदवी, अलंकार तथा पदक दिने प्रावधान छ। त्यसको उल्लंघन हुने गरेको छ। योगदानलाई भन्दा सोर्सफोर्स, भनसुन र निकटतालाई वढि महत्व दिइएको विश्लेषकको भनाई छ। सरकारले यस पटक मानपदवी ३४४ जनालाई तथा अलंकार र पदक १ सय ७४ जनालाई वितरण गरेको छ।
गृह मन्त्रालयको विभूषण शाखाका अनुसार तक्मा वितरणमा मात्रै वार्षिक ८ करोड रुपैया खर्च हुदै आएको छ। यसमा हालसम्म अरर्वौ रुपैया खर्च भइसकेको छ। गृहले गत वर्ष मात्रै नेपाल रत्न, राष्ट्रगौरव, राष्ट्रदीप ,जनसेवा श्री गरि विभिन्न श्रेणिका तक्माहरु ४ सय ९८ जनालाई दिने निर्णय गरेको थियो।
वर्षेनी ४ देखि ५ सय जनालाई तक्मा वितरण हुने गरेको छ। तक्माको मूल्य २० हजार देखि १३ लाखसम्म पर्छ। गृहका अनुसार नेपाल रत्न वनाउन झण्डै १३ लाख खर्च हुन्छ भने अन्य विभूषण वनाउन पनि १० लाख सम्म खर्च हुने गरेको छ। ४–५ लाखसम्मका त धेरै विभूषण छन्। पुर्व मुख्य सचिव दामोदरप्रसाद गौतमले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि पुरानै शैलीमा तक्मा वितरण गर्नु गलत भएको वताए।
आफु निकटकालाई भन्दा उनीहरुले राज्यलाई दिएको योगदानको गहन अध्ययन गरि विभूषित गर्न सकिएमा नया नेपालमा परिवर्तनको महसुस हुन सक्ने उनको सुझाव छ। विभूषण ऐन २०६४ अनुसार प्रत्येक वर्ष विभूषण वितरण गर्नकै लागि सरकारले वरिष्ट मन्त्रीको अध्यक्षतामा समिति बनाउँछ। यस पटक उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल त्यसका अध्यक्ष थिए।
नेपाल रत्न बनाउन १३ लाख पर्छ। यसमा हिरा, सुन र मिना जडित हुन्छ। यो आठ कोणको मणि वाट वनेको हुन्छ। यसको व्यास ८.५ सेन्टिमिटर हुन्छ। यसको अग्रभागको प्रत्येक कोणमा पाच पाच वटा हिरा हुन्छन्। अन्य तक्माहरु राष्ट्रगौरव, राष्ट्रदीप , प्रवल र सुप्रवल जनसेवा श्री पनि सुन, हीरा, मुगा जडित ४ देखि १० लाख सम्मका हुनेछन्।यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ।
प्रतिक्रिया दिनुहोस्