काठमाडौं, ३ असोज । नेपालमा पूर्वाधार लगानीका लागि आवश्यक वातावरण बनाउन सन् २०१९ को मार्चामा लगानी सम्मेलन हुने भएको छ ।
लगानी बोर्डको बैठकले द्रुत आर्थिक विकासका लागि मुलुकमा वैदेशिक लगानीको आवश्यक्ता रहेको भन्दै सन् २०१९ को मार्चामा लगानी सम्मेलन गर्ने गरी प्रस्ताव गरेको हो । मंगलबार अबेर सम्पन्न बोर्डको ३२ औं बैठकले नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ मार्चमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागिएको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिएका छन ।
२५ वर्षअघि नेपालमा पहिलोपटक लगानी सम्मेलन भएको थियो । ०४६ सालको परिवर्तनपछि विदेशी लगानीलाई महत्व दिन थालिएको हो । त्यसअघि नगण्य मात्रामा विदेशी लगानीका परियोजना नेपालमा सञ्चालनमा थिए । अहिले राम्रो अवस्थामा सञ्चालनमा रहेका नेपाल–अरब (नबिल) बैंक, नेपाल ग्रिन्डलेज बैंक (स्ट्यान्डर्ड चार्टर्ड) र नेपाल इन्डोस्वेज बैंक (इन्भेस्टमेन्ट) पञ्चायती व्यवस्थाको अन्तिममा आएका परियोजना हुन् । उद्योग विभागको अभिलेखमा ०४६ सालअघि ६३ वटा उद्योग वैदेशिक लगानीमा सञ्चालन भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्