काठमाडौं, ३ असोज । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं –तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ ।
यसअघि द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको हो ।
काठमाडौं –तराई मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जानकारी दिए ।
डिपीआर करीब १० करोड १५ लाखको लागतमा तयार हुनेछ, जुन भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा ५१ करोड सस्तो हो । खरीद सम्झौता भएको चार महिनाभित्रै उक्त कम्पनीले डिपीआर तयार गर्ने विश्वास दिलाएको छ ।
औपचारिकरुपमा द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डिपीआरका लागि परामर्शदाताको छनोट गर्न सफल भएको हो ।
एशियाली विकास बैंकले २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ । सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको सङ्ख्यामा रुख कटान भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्