काठमाडौं, ३ असोज । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइँदैछ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले अहिले केहीबेरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ ।
त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी गरिनाका साथै असोज २, ३ र ४ गते दीपावली गरिने छ ।
सरकारले संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ३३ सदस्यीय मूल समारोह समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कामपाको संयोजकत्वमा मञ्च सजावट व्यवस्था उपसमिति गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्