काठमाडौं, २ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो ।
भेटमा उर्जामन्त्री पुनले नेपाल र चीनबीच निकै पूरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझै मजबूत हुने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरान द्धिपक्षीय हितका धेरै सम्झौता भएको स्मरण गराउँदै उक्त भ्रमणमा भएका समझदारीहरु अघि बढिसकेको बताए ।
मन्त्री पुनले सरकारले आगामी १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उक्त लक्ष्य पुरा गर्न नेपाललाई चिनियाँ लगानी आवश्यक रहेको धारणा पनि राखे । नेकपाका नेता समेत रहेका मन्त्री पुनले पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु नेपालमा आकर्षित भएको भन्दै थप लगानीको वातावरण बनाईदिन भाइस गर्भनर बाओसिङसंग आग्रह गरे ।
‘हामीलाई १० बर्षमा देशभित्रै १० हजार मेगावाट विजुली आवश्यक पर्छ,क्षेत्रीय बजारका रुपमा हामीसँग अव बङगलादेश र भारत पनि हुन्छ, तपाईहरुले निर्धक्क भएर लगानी गर्नुहोस्’ मन्त्री पुनले भने । मन्त्री पुनले भारत र बङगलादेशसँग इनर्जी को–अपरेसनमा समझदारी भइसकेको भन्दै त्यसले बजार विस्तारमा सहयोग पुग्ने दाबी पनि गरे ।
भेटमा भाइस गर्भनर बाओसिङले हुनान प्रान्त चीनमा उर्जा प्रविधिको लागि निकै चर्चित रहेको भन्दै नेपालमा सहकार्य गर्न आफुहरु ईच्छुक रहेको बताएका थिए ।
उनले चीनले अघि सारेको वान वेल्ट वान रोडमा नेपालले हस्ताक्षर गरिसकेको भन्दै त्यसमार्फत नै सहकार्य गर्न चीन सरकार तयार रहेको धारणा राखे । भाइस गर्भनर बाओसिङले हुनान प्रान्तले हाल ४३ हजार मेगावाट विजुली उत्पादन गरिरहेको जानकारी दिँदै नेपालको कृषि र उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्