गणेशमान सिंहको स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाईँदै

काठमाडौं, असोज २ । प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको २१ औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रमका साथ मनाईँदैछ ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृतिमा मंगलबार नेपाली कांग्रेस र उसका विभिन्न संस्थासहितले विविध कार्यक्रम गर्दैछन् ।
संहको प्रतिमा रहेको काठमाडौँको शोभा भगवतीमा विशेष कार्यक्रम हुँदैछ । लौहपुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए । बिपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा बिपीसँगै थिए ।
राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव , २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कूसम्म उनी बिपीको साथमा थिए ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेतालाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार सम्झाइरहे । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्