रसुवाको पहिरोमा परी मृत्यु भएका परिवारलाई २२ लाख क्षतिपूर्ति दिइने

 काठमाडौं, भदौ  ३१ । पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई २२ लाख क्षतिपूर्ति दिइने भएको छ ।
रुकुम भूमे गाउँपालिकाका ५० वर्षीय भीम रोका र मकवानपुरको हेटौँडा–११ मकत गाउँका २२ वर्षीय रमेश बर्तौलाको परिवारलाई सो क्षतिपूर्ति दिइने भएको हो । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ बाहिर पहिरो खस्दा गत भदौ ३० गते दुवै जनाको मृत्यु भएको हो ।
रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैह्रेकाअनुसार उनहरुको परिवारलाई जनही ११ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरिएको हो ।
मृतकका परिवारलाई दशैँ खर्चसहित दुई महिनाको पारीश्रमिकसमेत उपलब्ध गराइनेछ । चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि र आयोजनाबीच उक्त सहमति भएको हो ।
उनीहरुको शव रसुवा अस्पतालमा परीक्षण गरेलगत्तै दाहसंस्कारका लागि सोमबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्