सरकारप्रति नेविसंघको व्यङ्ग्य : बलात्कारी विरुद्ध नबोलौ अरिंगालले टोक्ला !

 काठमाडौं, भदौ  ३१ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
सरकारले पीडितलार्इ न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको भन्दै केन्द्रीय समितिको आयोजनामा नेविसंघले सरकारविरुद्ध नारावाजीसमेत गरेको थियो ।
‘बलात्कारीलाई संरक्षण किन ?’, भन्दै सरकारविरूद्ध प्रदर्शनमा उत्रिएको नेविसंघले ‘बलात्कारी, हत्यारा, माफियाविरुद्ध नबोलौ अरिंगालले टोक्ला !’ भन्दै सरकारप्रति व्यङ्ग्यसमेत गरेको छ ।
केही दिनअघि एक कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बिरोध गर्नेहरूप्रति अरिंगाल जस्तै बनेर प्रतिवाद गर्न निर्देशन दिएका थिए । बलात्कार र हत्याका घटनामा संलग्नलार्इ कारबाहीको माग गर्दै बिरोध भइरहेका बेला प्रधानमन्त्रीले दिएपछि नेविसंघले व्यङ्ग्य गरेको हो ।
नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा भएको प्रदर्शनमा महामन्त्री कुन्दनराज काफ्ले लगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।
विश्वभाषा क्याम्पसबाट सुरु गरी प्रदर्शनीमार्ग हुँदै पुतलीसडकसम्म प्रदर्शन गरिएको केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्