निर्मला बलात्कार–हत्या प्रकरणः डिआईजी बस्न्यातको नेतृत्वमा अर्को अनुसन्धान कमिटी गठन

काठमाडौं, ३१ भाद्र । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न अर्को ‘शक्तिशाली’ समिति गठन गरिएको छ ।
बालिका निर्मला पन्त बलात्कार प्रकरणमा उच्च तहबाट छानविन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अर्को कमिटी गठन गरेको छ । समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन ।
यसअघि गठन भएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गरिएको हो । डिआईजी धिरु बस्न्यातको नेतृत्वमा गठन भएको समितिलाई कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीबारे छानविन गर्ने कार्यादेश दिइएको छ ।
कञ्चनपुर घट्नामा प्रहरीको भूमिकाको सम्बन्धमा विस्तृत छानविन र गृह मन्त्रालयबाट निलम्बित ६ जनासहित कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न सबै तहका प्रहरी कर्मचारीले खेलेको भूमिकाबारे अनुसन्धान हुनेछ ।
बस्न्यात नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्