नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक, चिनियाँ कम्पनी मात्र २० वटा

काठमाडौं, ३१ भदौ। नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले निर्माण गर्न लागिएको नागढुंगा सुरुङ मार्गको निर्माणका लागि सडक विभागले एक महिनाअघि ग्लोबल टेन्डर आह्वान गरिसकेको छ ।
अगस्ट १० मा आह्वान भएको टेन्डरको अवधि अक्टोबर १० सम्म तोकिएको छ ।
टेन्डर आह्वान भएको १ महिनामा मात्रै ३५ निर्माण कम्पनीले इच्छा देखाएको विभागले जनाएको छ ।
इच्छा देखाएका ३५ निर्माण कम्पनीमध्ये २० वटा मात्रै चिनियाँ कम्पनी रहेको विभागका इन्जिनियर छविलाल पौडेलले बताए ।
ग्लोबल टेन्डर आह्वान भएको आधा अवधिसम्म यति धेरैले इच्छा देखाएको छ कि चिनियाँ कम्पनी मात्रै २० वटा छन्’ –उनले भने ।
उनका अनुसार चाइनिज २०, नेपाली १०, जापानी ३, भारतीय १ र टर्कीको १ निर्माण कम्पनीले सुरुङ मार्ग बनाउने इच्छा गरेको छ ।
विभागले फागुनदेखि निर्माण चरणमै जान निर्माण कम्पनी छनोट र सम्झौता गर्ने जनाएको छ ।
विभागले अहिले जग्गा अधिग्रहण र मुअब्जा वितरणको कामलाई तीव्रता दिएको छ ।
विभागले धादिङतर्फ १ सय ९ रोपनी र काठमाडौंतर्फ २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्दछ ।
काठमाडौंतर्फ मुआब्जा वितरण सुरु भइसके पनि धादिङतर्फ भने अहिलेसम्म मुआब्जा निर्धारणसमेत हुन सकेको छैन ।
पहुँचमार्गका लागि काठमाडौं साविकका महादेवस्थान, दहचोक, बलम्बु र थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ भने धादिङतर्फ सिस्नेखोलादेखि खत्रीगाउँसम्मका जग्गा अधिग्रहण गर्नुपर्ने विभागले जनाएको छ ।
त्रिभुवन राजमार्गको बलम्बुदेखि उत्तरतिर लागेर त्रिवेणी घाट हुँदै सुरुङको पूर्वपट्टिको मार्ग तोटीपाखासम्म २ दशमलव ३ किलोमिटर प्रवेश मार्गका लागि दायाँबायाँ २५/२५ मिटर भाग अधिग्रहणको प्रक्रिया सुरु भइसकेको छ ।
त्यसमा विभागले तीन लेनको सडक तयार निर्माण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्