निर्मलाको न्यायका लागि काठमाडौँसहित १६ ठाउँमा एकैपटक प्रदर्शन हुँदै

 काठमाडौं, भदौ ३० । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको न्याय र दोषीलाई कारबाहीको माग गर्दै शनिबार देशव्यापी प्रदर्शन हुँदैछ ।
‘निर्मलाको निम्ति न्याय’ भन्दै देशका १६ स्थानबाट एकैपटक दबाब भेला हुन लागेको हो । बलात्कारविरुद्ध आवाज उठाउन गाईघाटको पिपलचोकमा बिहान ८ बजे, मेलम्ची, हेलम्बु बसपार्कमा दिउँसो १ बजे, भरतपुरको चौबीसकोठीमा साँझ ५ बजे, नेपालगञ्जमा दिउँसो १ बजे, पोखराको मानवअधिकार चोकमा दिउँसो १ बजे, पाँचखाल काभ्रेको समाजकल्याण चोकमा बिहान ८ बजे, राजबिराजको भगवती मन्दिर नजिकै दिउँसो १ बजे निर्मलाको पक्षमा प्रदर्शन हुँदैछ ।
यस्तै इनरुवाको लोकतान्त्रिक चोकमा दिउँसो १ बजे, इटहरीको रेयूकाई चोकमा दिउँसो १ बजे, धरानको भानु चोकमा दिउँसो १ बजे, विराटनगरको ट्राफिक चोकमा दिउँसो १ बजे, तथा बिराट चोकमा दिउँसो १ बजे, दमकको दमक चोकमा दिउँसो १ बजे, झापाको अर्जुनधारामा दिउँसो १ बजे, काँकरभिट्टाको हनुमान मन्दिरमा बिहान ९ बजे र काठमाडौँको माइतीघर मण्डलामा दिउँसो १ बजे पनि प्रदर्शन हुँदैछ ।
यसअघि बिहीबार निर्मलाका आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तको उपस्थितिमा कञ्चनपुरबाट आएका महिला अधिकारकर्मी र स्थानीयले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी त्यही साँझ माइतीघर मण्डलमा दीप प्रज्जवलन गरिसकेका छन् ।
यस्तै शुक्रबार स्कुल ड्रेसमै विद्यार्थीहरुले नयाँ बानेश्वरमा निर्मलालाई न्याय देऊ, बालबालिकामाथिको यौन हिंसा बन्द गर, दोषीलाई कारबाही गर लगायतमा पम्प्लेट बोकेर प्रदर्शनका थिए।
प्रतिक्रिया दिनुहोस्