सुविधा नदिए बैठक नचलाउने संसद्का कर्मचारीको चेतावनी

काठमाडौं, भदौ ३० ।  संघीय संसद् सचिवालयका कर्मचारीहरुले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।
यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको हो ।
२०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुका गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।
त्यसबापत उनीहरुले बिहानको साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए ।
शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपियाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ पछि यो सुविधा कटौती गरिएको छ ।
कर्मचारीले त्यसपछि १ सय २० प्रतिशत थप सुविधा मागेका थिए भने सचिवालयले ८० प्रतिशत सुबिधा थप गरिदिएको थियो ।
असार अन्तिमसम्म तलब बाहेक थप ८० प्रतिशत सुविधा पाइरहेका कर्मचारीलाई काम लगाएर पनि अहिले सुविधा नदिएपछि उनीहरु आक्रोशित भएका छन् ।
उनीहरुले अत्यावश्यक सेवा र जुनसुकै बेलामा पनि काम गर्नुपर्ने भएकाले अन्य कार्यालयको जस्तै सेवा सुविधा बढाउनु पर्ने भन्दै आवाज उठाउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्