अमेरिकामा चेतावनीः ‘समय नजिकिँदै छ, सयौंको ज्यान लिनसक्ने समुन्द्री आँधी केही घण्टाभित्रै आउँदैछ’ Jagaran News Published On : 14 September, 2018 2:28 am काठमाडौं, भदौ २९ । अमेरिकाको पूर्वी तट नजिकै आइरहेको समुन्द्री आँधी फ्लोरेन्सका कारण सयौंको ज्यान जानसक्ने अधिकारीले चेतावनी दिएका छन् । फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) का वरिष्ठ अधिकारी ब्रोक लोंगका अनुसार समुन्द्री आँधीका कारण नजिकैका इलाकामा बाढी आउन सक्छ । फ्लोरेन्स आँधीको गती एक सय ६५ किलोमिटर प्रतिघण्टा बताइएको छ । ब्रोक लोंगले यति तीब्र गतीको हावाका कारण खतरा अत्यधिक भएको जानकारी दिएका छन् । उनले भर्जिनिया र क्यारोलाइनामा इन्चमा नभई फुटसम्म पानी भरिन सकिने चेतावनी दिएका छन् । उनका अनुसार आँधीको गती पहिलेको तुलनामा कम भएपनि वर्षामा कुनै कमी हुने छैन । उनले भने, ‘समय नजिकिँदै छ, समुन्द्र छाल केही घण्टाभित्रै आउँदैछ ।’ मौसम वैज्ञानिकले फ्लोरेन्सको वास्तविक असर शुक्रबार स्थानीय समयानुसार बिहान आठ बजेको वरिपरि हुने अनुमान गरेका छन् । क्षतीको आशंका गर्दै उत्तरी क्यारोलाइना, दक्षिणी क्यारोलाइना र भर्जिनियाको तटीय इलाकाबाट लगभग १७ लाखलाई सुरक्षित स्थानमा पुर्याउन आदेश दिइएको छ । फ्लाइट अवेयर डट कमका अनुसार १४ सयबढी उडान रद्द गरिएको छ । तटीय इलाकाका धेरैजसो हवाई अड्डालाई बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्