काठमाडौं, भदौ २६ । पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।
स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।
ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो । स्थानीयबासी आगलागीपछि त्रसित बनेका थिए ।
आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएको अर्को घरमा पनि फैलिएको थियो ।
दरबारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले पहिलो तल्लाबाट सल्किएको आगो समयमै नियन्त्रण गर्न नसक्दा चौथो तल्लासम्म फैलिएको र १० करोड बराबरको क्षति अनुमान गरिएको जानकारी दिए ।
आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको डीएसपी मल्लले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्