नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने भारतीय गिरोह पक्राउ, चारथान मेसिन समेत बरामद

काठमाडौं, भदौ २५ । प्रहरीले नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँको ठमेलबाट तीन जना भारतीय र एक जना नेपाली युवक केहिबेरअघि पक्राउ परेको नेपाल प्रहरीका एसएसपी बसन्तकुमार लामाले जानकारी दिए ।
उनीहरुले ठमेलको एक होटेलको कोठामा बसेर नक्कली एटिएम कार्ड बनाउने गरेका थिए । प्रहरीले उक्त कोठामा छापा हानेको हो ।
उनीहरुको साथबाट नक्कली एटिएम कार्ड बनाउने चारथान मेसिन समेत बरामद भएको एसएसपी लामाले जानकारी दिए ।
उनीहरुले नक्कली एटिएम कार्डको प्रयोग गरेर के कति रकम झिकेका छन् भन्ने कुरा खुलेको छैन ।
एसएसपी लामाले पक्राउ परेको यो गिरोहले एटिएमबाट ठूलो रकम झिकेको अनुमान गरिएको र त्यसबारे अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्