काठमाडौं, २४ भाद्र । नेपाल दूरसंचार प्राधिकरणका नवनियुक्त अध्यक्ष दिगाम्बर झाले पदबहाली गरेका छन्। अाइतबार संचार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँस्काेटाले उनलाई पदबहाली गराएका हुन्। गत बिहिबार मन्त्रिपरिषद्को निर्णयबाट अध्यक्ष बनेका झाले तेस्रो पटक प्राधिकरणको नेतृत्व सम्हालेका हुन् ।
आइतबार पदबहाली गर्दै झाले आफ्नो कार्यकालमा सम्पन्न गर्नेगरी आधा दर्जन प्रतिबद्धता जाहेर गरेका छन्।
हरेक नेपालीको पहुँचमा ब्रोडब्यान्ड सुविधा पुर्याउने प्रतिबद्धता गरेका झाले मोबाइल फोनको प्रयोगलाई ध्यानमा राखेर मोबाइल ब्रोडब्यान्ड सुविधाको पहुँच पनि मुलुकभर विस्तार गर्ने लक्ष्य रहेको उनले बताए। त्यसका लागि पूर्वाधार विकासमा ध्यान दिने उनको भनाइ छ।
नेपालको आफ्नै स्याटेलाइट निर्माणका लागि प्राधिकरणले ध्यान केन्द्रित गर्ने उनको योजना छ। हालसम्म नेपालको आफ्नै स्याटेलाइट छैन।
दूरसंचार कम्पनीलाई टावरको सह-प्रयोग गर्न सहजीकरण गर्ने योजना रहेकाे उनले सुनाए। हाल दूरसंचार कम्पनीले आ-आफ्नै टावरमात्र प्रयाेग गर्दै अाएका छन्। एउटै टावरमा सबैको नेटवर्कको सामञ्जस्य मिलाउने गरी काम गर्ने उनले बताए। यसो गर्दा लागत ३० प्रतिशत घट्ने झाको दाबी छ।
टेलिकम कम्पनीबीच प्रतिस्पर्धा विस्तार गरी मूल्य र गुणस्तरलाई चुस्त बताउने उनले बताए। विगतमा गरेको योगदानको उच्च कदर गर्दै आफूलाई सरकारले पुनः नियुक्ति दिएको उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस्