काठमाडौं, २४ भाद्र । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
नेपालको नक्सा त्रुटिपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरी नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको हो।
त्रुटिपूर्ण रुपमा निशान छापमासमेत नेपालको नक्सा प्रयोगमा ल्याउने काम विभिन्न मन्त्रालयबाटै भएपछि त्यसलाई सच्याउन सम्बन्धित सबैलाई आग्रह गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए। उनले अब पनि नेपालको नक्सा त्रुटिपूर्ण ढंगले प्रयोग गरेको पाइए कानुनी कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी पनि दिए।
मन्त्रालयले नापी विभागले सार्वजनिक गरेको नेपालको आधिकारिक नक्सा प्रयोग गर्न पटक–पटक आग्रह गर्दै आएको छ। तर, पनि त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा ल्याउने काम नरोकिएपछि मन्त्रालयले यसलाई सच्याउन अनुगमनको कामलाई प्रभावकारी बनाउने र नेपालको आधिकारिक नक्साको चित्र छपाएर देशभर वितरण गर्ने अभियान पनि सञ्चालन गर्ने योजना बनाएको छ।
त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा रोक लगाउन अनुगमनलगायतको कामलाई अघि बढाउन नापी विभागलाई निर्देशन दिइएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले बताइन्।
यता, नापी विभागले पनि विभागको वेबसाइट डब्लूडब्लूडब्लू डट डिओस डट जीओभी डट एनपी (www.dos.gov.np)मा राखिएको नेपालको आधिकारिक नक्सा मात्रै प्रयोग गर्न सम्बन्धित सबै निकायलाई पुनः आग्रह गरेको छ। विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले विभागको आधिकारिक वेबसाइटमा राखिएको नेपालको सीमासहितको नक्सा प्रयोग गर्न आग्रह गरे।
विभागले यसअघि पनि पत्रकार सम्मेलन गरी नेपालको आधिकारिक नक्सा प्रयोगमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ। जग्गा नाप जाँचसम्बन्धी ऐन र नियमावलीमा नापी विभागले तयार पारेको नेपालको नक्सामात्रै प्रयोगमा ल्याउनुपर्ने किटानी व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस्