अन्तिम समयमा बिम्स्टेक सैन्य अभ्यासबाट किन पछि हट्यो नेपाल?

  काठमाडौं, २४ भाद्र । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य राष्ट्रहरुका सैनिकहरुको संयुक्त सैन्य अभ्यासबाट नेपाल पछि हटेको छ । सैन्य अभ्यासबाट नेपाल अन्तिम समयमा पछि हट्नुलाई आफैमा अर्थपूर्ण रुपमा लिइएको छ ।
दुई महिना अगाडिदेखि भारतले सैन्य अभ्यासको तयारी र छलफल सुरु गरेको थियो । नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यासका दोस्रो श्रृङखला सगरमाथा फ्रेण्डसिप–२ घोषणा भएसँगै भारतले छलफल र तयारी थालेको भए पनि यसको चर्चा बिम्स्टेक सम्मेलनको उद्घाटनसँगै चुलिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन कार्यक्रममा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेपछि संयुक्त सैन्य अभ्यास चर्चा र विवादको विषय बन्न पुग्यो ।
सैन्य अभ्यासको विषयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले प्रश्न मात्रै उठाएन सत्तापक्षका नेताहरुसमेत असन्तुष्ट बने । सार्वजनिक रुपमै सरकारको निर्णय विरुद्ध सत्तापक्षका सांसदहरुले संसदमै आवाज उठाए । अन्ततः संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिम्स्टेक सम्मेलनका क्रममा सैन्य अभ्यासको कुनै निर्णय नभएको दाबी प्रस्तुत गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै पुगेर सैन्य अभ्यास नभइ तालिम भएको दाबी गर्नुभयो ।
सरकारले संयुक्त सैन्य अभ्यासको अन्तिमसम्म बचाउ गर्दै आयो तर, सरकारमाथि सैन्य अभ्यासको विषयलाई लिएर आलोचना बढ्दै गयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसद भिम रावलले पटक पटक यस विषयलाई संसद तथा संसदीय समितिको बैठकमा उठाइराख्नुभयो । ने क पा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बिम्स्टेक सैन्य अभ्याससँगै नेपालमा सम्पन्न अमेरिकी सैनिकहरुको कार्यक्रमको विषयमासमेत सरकारसँग आधिकारिक धारणा माग गर्नुभयो ।
यसरी आफ्नै सांसदहरुले संयुक्त सैन्य अभ्यासको विरुद्धमा आवाज उठाइरहँदा यसलाई बचाउ गर्नेमा सरकारको तर्फबाट प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीमात्र भए । अन्तिममा रक्षा मन्त्रालयका सचिव मार्फत् नेपाली सेनालाई सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन गयो । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय मार्फत् सैन्य अभ्यासमा जाने पुर्ववत् निर्णय फिर्ता लिएको हो ।
१० सेप्टेम्वर (सोमवार) भारतको पुणेमा संयुक्त सैन्य अभ्यासमा सुरु हुँदै छ । सैन्य अभ्यासकै क्रममा सबै सात सदस्य देशका सेना प्रमुखहरुको पनि बैठक बस्ने बताइएको थियो । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता गोकुल भण्डारीले सैन्य अभ्यास स्थगित हुने भन्ने बारेमा आधिकारिक कन्फर्मेसन भने नआइसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्