काठमाडौं, भदाै २४ । संयुक्त राष्ट्रसंघले नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभागको (डिपिए) कार्यालय बन्द भएको औपचारिक घोषणा गरेको छ। नेपाल सरकारले तीन महिनाको समयाअवधि दिएर राष्ट्रसंघीय कार्यालय बन्द गर्न निर्देशन दिएको थियो।
कार्यालय औपचारिक रुपमा बन्द भएको राष्ट्रसंघका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। ‘विगत २ दशकदेखि नेपालको शान्ति प्रक्रियामा सघाउँदै आएको डिपिए नेपालमा संविधान निर्माण र यससँगै भएको तीन चरणको निर्वाचनपछि औपचारिक रुपमा बन्द गर्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ।
नेपालस्थित राष्ट्र संघको डिपिएमाथि कार्यक्षेत्र नाघेर काम गरेको आरोप लाग्दै आएको थियो। उसले जातीय, क्षेत्रीय मुद्धालाई भड्काउने गरेको, विखण्डनकारी तत्वहरुसँग सम्बन्ध विस्तार गरेको र सघाएको आरोप लागेको थियो।
यसअघि ‘अनमिन’ सन् २००६ देखि २०११ सम्म औपचारिक रुपमा नेपालमा रही सेना समायोजन लगायत तत्कालीन माओवादीलाई राजनीतिको मुल प्रबाहमा ल्याउन सहयोग गर्न नेपाल आएको थियो। तर, त्यसयता भने नेपालमा अनधिकृत रुपमा डिपिएका रुपमा बस्दै आएको थियो। राष्ट्रसंघले राजनीतिक मामिला हेर्ने विभागका रुपमा डिपिएलाई नेपाल सरकारसँग कुनै सम्झौता नगरी सञ्चालन गर्दै आएको थियो।
डिपिएले नेपाल सहित दक्षिण एसियाली राष्ट्रहरुको राजनीतिक अनुगमन नेपालबाटै गर्ने गरेको यस क्षेत्रका जानकारहरु बताउँछन्। द्वन्द्वकालीन मुद्धा समाधान गर्न स्थापना भएको डिपिए नेपालमा रहँदा अझै द्वन्द्व रहेको अन्तर्राष्ट्रिय जगतमा सन्देश जाने हुँदा बन्द हुनु नै राम्रो भएको परराष्ट्र मन्त्रालयको बुझाइ छ।
प्रतिक्रिया दिनुहोस्