बैतडीको स्थानीय तहमा कर्मचारी अभाव, ८४ मध्ये ५० वडा सचिवविहीन

काठमाडौं, भदौ २४ । स्थानीय तहमा जनप्रतिनिधि आएको १ वर्ष पुरा भइसक्दासमेत जनताले भनेजस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन्।
स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ। बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन्। वडामा सचिव नहुँदा निकै समस्या भएको छ।
१० वटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका ६ वटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिए। ‘वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवा प्रभावित भएका छन्,’ उनले भने, ‘वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्।’
पञ्चेश्वर गाउँपालिकाको ६ वडामध्ये ४ वटा वडामा सचिव नभएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए।
यस्तै मेलौली नगरपालिकाका ९ वटा वडामध्ये ६ वटा वडामा सचिव नभएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्।
‘वडामा सचिव नहुँदा नागरिकले चाहेअनुसारको सेवा पाएका छैनन्,’उनले भनिन्, ‘सचिव नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवा जनताले सहज तरीकाले पाउन मुस्किल भएको छ।’
यसैगरी पुर्चौंडी नगरपालिकाका १० वडामध्ये ९ वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिए। यसैगरी पाटन नगरपालिकामा पनि १० वडामध्ये ५ वडामा सचिव नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताए।
दोगडाकेदार गाउँपालिका–८ वडामध्ये ३ वडामा सचिव नभएको गाउँपालिकाका नायब सुब्बा शेरसिंह विष्टले जानकारी दिए। यस्तै डिलाशैनी गाउँपालिकामा ७ वडामध्ये ४ मा सचिव नभएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले जानकारी दिए।
कर्मचारी अभावमा यहाँका स्थानीय तहमा कामकाजमा समस्या भएको र सरकारसँग कर्मचारी पठाउन पटकपटक आग्रह गरेको भए पनि हालसम्म पनि पदपूर्ति हुन नसकेको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताए।
जनप्रतिनिधि आइसकेपछि घरदैलोमै सहज रुपमा सेवा पाउने आश गरेका नागरिक निरास हुँदै गएका छन्।
प्रतिक्रिया दिनुहोस्