४ वटा डिलक्स बस थप्दै साझा, उपत्यका बाहिर सेवा विस्तार गर्ने

काठमाडौं, २३ भदौ । सधैं नोक्सानी व्यहोर्दै आएको र थला परेर कृही समय अघिमात्र ब्युतिँदै गरेको साझा यातायातले पछिल्ला दिनमा भने आक्रमक रुपमा व्यवसाय विस्तार गरेको छ । उपत्यकामा मात्र सेवा विस्तार गर्दै आएको साझाले उपत्यका बाहिर पनि व्यवसाय विस्तार गर्ने लक्ष्य अनुरुप ४ वटा डिलक्स बस काठमाडौं भित्र्याई सकेका छन् । साझा यातायातका अनुसार यी बसले केही समयपछि आफ्नो सेवा शुरुवात गर्नेछन् ।
कम्पनी स्रोतका अनुसार यी बस बाग्लुङसहित अन्य केही गन्तब्यमा नियमित रुपमा चलाउने योजना छ । बसहरु पञ्जीरकणको प्रक्रियामा रहेको साझाले जनाएको छ । साझाले थप २० वटा सिटी बस पनि ल्याउने तयारी गरिरहेको र त्यसका लागि भारतमा बस निर्माण भइरहेको छ । स्रोतका अनुसार तिहारपछि २० वटा सिटी बस आउने छन ।
यसअघि साझाले १३ वटा डिलक्स बस ल्याउन लागेको थियो । तर, काठमाडौं र ललितपुर महानगरपालिले साझालाई उपत्यकाभित्रै चलाउने गरी सिटीबस ल्याउन भनेपछि योजना परिवर्तन भएको थियो । त्यसपछि कम्पनीले डिलक्स बसको संख्या घटाएको थियो ।
बस ल्याउन काठमाडौं महानगरले पााच करोड र ललितपुर महानगरले एक करोड रुपैयाँको दिइसकेका छन् । दुबै महानगरपालिकाले यो रकम साझा यातायात प्रा.लीमा शेयरका रुपमा लगानी गरेका हुन् ।
यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा संचालनमा छन् । अब आउने सिटी बसहरु पनि अपांगमैत्री हुनेछन्, जसमा दुईवटा फरकिला ढोका हुनेछन् । बसको पछिल्लो भागको ढोकाबाट हृवील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् ।
बीचभागमा पर्याप्त स्पेशका साथमा ह्यांगरहरु राखिनेछ, यसले उभिएर यात्रा गर्दा पनि केही सहज हुनेछ । निमित्त प्रमुख कार्यकारी पाण्डेयका अनुसार केही दिनमै बस खरिदका लागि टेण्डर आह्वान गरिनेछ । ति बसहरु आएपछि काठमाडौं महानगरसंग छलफल गरेर रुटको टुंगो लगाउने साझा यातायातले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्