तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ : सभामुख महरा

काठमाडौं,२३ भदौ। सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताएका छन ।
चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं सांस्कृतिक प्रदर्शनी–२०१८’ का अवसरमा उहाँले तिब्बतसँगको सम्बन्धले चीन र नेपालबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताउनुभयो । उनले भने, “अहिले तिब्बत दुई देशबीचको सम्बन्ध, व्यापार, पर्यटन, संस्कृति एवं अन्य चासोका क्षेत्रको द्वारका रुपमा रहेको छ ।”
पर्यटन तथा सांस्कृतिक प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताउँदै सभामुख महराले केही दशकयता तिब्बतले आर्थिक एवं भौतिक पूर्वाधारमा प्राप्त गरेको सफलता प्रदर्शनीमा देख्न सकिने बताए ।
उहाँले पर्यटन तथा सांस्कृतिक प्रदर्शनीमा राखिएका सामग्री, कार्यक्रम, व्यापारिक कक्ष एवं विधागत मञ्च हेर्दा आफूले तिब्बत वास्तविक उत्पादन, व्यापार, संस्कृति, धार्मिक एवं पर्यटकीय गन्तव्य भएको पाएको बताए । प्रदर्शनीमा नेपाल पनि सहभागी भएको चर्चा गर्दै सभामुख महराले यसबाट चीनमा नेपाली सामग्रीको निर्यात बढ्ने र चीनसँग रहेको व्यापार घाटा कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
चिनियाँ राष्ट्रपति सि जिङपिङले शुरु गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपाल पनि सहभागी हुन पाएकामा खुशी व्यक्त गर्दै सभामुख महराले भने, “हामीले बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत अन्तरदेशीय सम्पर्क सञ्जाल, पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रमा रहेका अवसरलाई दुई पक्षबीच अभूतपूर्व सहकार्य हुन सक्ने देखेका छौँ । नेपाल र चीनको तिब्बत बीचका अन्य धेरै सीमा बिन्दु द्विपक्षीय व्यापारमा प्रयोग गर्न सक्छौँ ।”
उनले पर्यटन तथा सांस्कृतिक प्रदर्शनीले आगामी दिनमा दुई देशबीचका नयाँ सीमा बिन्दु पहिल्याएर व्यापार तथा पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । नेपाल र चीनको तिब्बतबीच एक हजार ४१४ किलोमिटर लामो सीमाना रहेको चर्चा गर्दै सभामुख महराले नेपाल र तिब्बत बीचको सामाजिक, सांस्कृतिक, धार्मिक एवं व्यापारिक सम्बन्ध हजारौँ हजार वर्ष पुरानो रहेको स्मरण गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।
नेपाल–चीनबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध निकै उत्कृष्ट र प्रगाढ रहेको बताउँदै सभामुख महराले नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाउनुका साथै आफ्नो मुलुकभित्र चीनविरुद्ध कुनै गतिविधि हुन नदिनेमा प्रतिबद्धता रहेको स्मरण गराए ।
ल्हासामा स्थापना भएको नेपालको महावाणिज्य दूतावासले नै नेपाल–तिब्बत सम्बन्ध प्रष्ट हुने भन्दै सभामुख महराले महावाणिज्य दूतावास स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध एवं चीनको तिब्बतसँगको सामाजिक–आर्थिक, व्यापारिक, पर्यटकीय एवं सांस्कृतिक प्रवद्र्धन हुँदै आएको बताए
प्रतिक्रिया दिनुहोस्