सभामुख महरा र तिब्बतका पार्टी सचिव युबीच भेटवार्ता, भेटमा भयो यस्तो छलफल

काठमाडौं,२३ भदौ।  सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारको तर्फबाट सहयोग गर्न आग्रह गरेका थिए । नेपालको विकास र सफलताले चीनलाई पनि फाइदा पुग्ने उनले बताए ।
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख महराले तिब्बत र नेपालबीचको ऐतिहासिक, साँस्कृतिक, सामाजिक सम्बन्धले नेपाल(चीन सम्बन्ध थप सुदृढ भएको पनि बताए ।
संघीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको जानकारी गराउँदै महराले संघीय पद्धति र प्रक्रियाको लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्ने बताए ।
भेटमा चीनको तिब्बत स्वायत प्रदेशका कम्युनिष्ट पार्टीकासचिव यु यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिँदै विकास र समृद्धिको एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताएको महराको सचिवालये जनाएको छ ।
अहिले दुई देशबीच सम्झौता भएका निर्माणाधीन परियोजनाहरु कार्यान्वयनको तहमा रहेको भन्दै उहाँले आपसी सहयोग अझै बढाउनुपर्नेमा जोड दिएका थिए ।
चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा चीन आएका सभामुख महरालाई स्वागत गर्न तिब्बत जनकंग्रेसका उपाध्यक्ष च्यू च्यनहवा ल्हासा विमानस्थल पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्