काठमाडौं,२३ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ सरोकारलासँग छलफल गर्दै उखु कृषकको समस्या देशको साझा समस्या भएको भन्दै चिनी तथा उखु आयात रोक्नका लागि सीमा नाकामा कडाई गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
उखु कृषकको समस्या पुरानै हो, अब यसलाई केही हिसाबले हल गर्नेपर्छ, तत्कालका लागि चिनी आयात रोकौ र पारि (भारत) बाट उखु ल्याउन पाइँदैन र उद्योगीले उखु किन्दिन भन्न पनि पाउँदैनन्, उनले भने, त्यसैले सीमा नाकामा पुरै कडाइ गर्न म गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु।
प्रधानमन्त्री ओलीले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउने गरी चिनीको आवश्यकता, खपत र कृषक एवं उद्योगीको समान हित हुनेगरी उपयुक्त ढंगले उखु र चिनीको मूल्य निर्धारण गरिने उल्लेख गरे। चिनीमा हामी आत्मनिर्भर हुँदैछौं, यो खुसीको कुरा हो।
अहिले तपाईं (व्यवसायी) को आँकडाअनुसार अर्को वर्ष नै आत्मनिर्भर भइहाल्दैनौँ, अलिकति कम हुन्छ, चिनी आयात सरकारले हैन व्यापारीले नै गरिराखेको हो। यो सरकार गठन भएदेखि नै उखु किसानको समस्याप्रति म गम्भीर भएर छलफल गरेको पनि हुँ। यो समस्या छिट्टै समाधान हुन्छ।
छलफलमा सहभागी सांसद, उखु कृषक, चिनी उद्योगीले कृषकको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए।
उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली, नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेती, चिनी उद्योगी राजेश केडियालगायतले कृषकले ऋण गरेर उत्पादन गरेको उखु बिक्री नहुँदा समस्या परेको भन्दै लागतअनुसारको मूल्य र पाउनुपर्ने भुक्तानी उपलब्ध गराउन माग गरे।
छलफलमा प्रधानमन्त्री ओली, अर्थमन्त्री डा खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र सम्बन्धित मन्त्रालयका सचिव उपस्थित थिए।
महासंघको तथ्याङ्कअनुसार नेपालमा १२ वटा चिनी उद्योग सञ्चालनमा छन् ती उद्योगमा करिब रु तीन हजार करोड पुँजी लगानी भएको छ भने एक लाख उखु कृषक परिवार आबद्ध रहेका छन्। यस क्षेत्रमा करिब दुई लाखले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्।
आव २०७४र०७५ मा एक लाख ७७ हजार ९२४ मेट्रिकटन चिनी उत्पादन भएको थियो। चालु आवमा करिब ४० प्रतिशत उखु उत्पादन वृद्धि भई अनुमानित दुई लाख ४० हजार मेट्रिकटन चिनी उत्पादन हुने जनाइएको छ।
हरेक वर्ष चिनी उद्योगले उखु कृषकलाई करिब एक हजार करोड भुक्तानी गर्ने गरेको बताइन्छ।
प्रतिक्रिया दिनुहोस्