काठमाडौं, २२ भाद्र । सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावर कम्पनीलाई आफ्नै संस्थाको वेबसाइट बनाएर यथार्थ विवरण राख्न निर्देशन दिएको छ।
वैदेशिक रोजगार विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै म्यानावर कम्पनीलाई वैदेशिक रोजगारीमा कामदार पठाउँदा लाग्ने आवश्यक सामाग्री सबै वेबसाइटमार्फत जानकारी गराउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो।
म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारको विवरण नराख्दा विभागलाई अनुगमनलगायत अन्य काम कारबाहीमा समस्या भइरहेको विभागको बुझाई छ।
विभागले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीका नाममा धेरै उजुरी परेका तथा त्यस्ता उजुरीमाथि छानबिन गरी ठगी गरिएको पाइएमा म्यानपावर कम्पनीलाई सचेत तथा कारबाहीको दायरामा ल्याएको जनाएको छ।
विज्ञप्तिमार्फत रोजगारीका नाममा भइरेको विकृति रोक्न विभागले जस्तोसुकै कदम चाल्न सक्ने चेतावनीसमेत दिएको छ।
रोजगारीमा जाने युवासँग म्यानपावर कम्पनीले राहदानी लिएर वैदेशिक रोजगारीमा नपठाउने, विदेश पठाउँदा सरकारले तोकेभन्दा धेरै रकम असुल्ने म्यानपावर कम्पनीविरुद्ध विभाग कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्