प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई भदौ २५ गते हुने

काठमाडौं, २२ भाद्र । प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते हुने भएको छ। शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले मिश्रलाई सुनुवाइका लागि सोमबार बोलाउने निर्णय गरेको हो ।
समितिले शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध परेको चारवटा उजुरीको खोलेको छ । समितिका एक सदस्यका अनुसार उजुरीकर्तासँग आइतबार छलफल गरेर सोमबार मिश्रलाइ सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो ।
संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध उजुरी दिन आह्वान गरेको दश दिनको अवधिमा चारवटा उजुरी परेको थियो।
मिश्रविरुद्ध ऐनसेलको मुद्दामा राज्यलाई करोडौं घाटा हुने गरी पैसा विदेश लैजान अन्तरिम आदेश दिएको, सूर्य नेपालको मुद्दामा पनि कर छली गर्न आदेशमार्फत सहयोग गरेको, हाँगी गाउँको सार्वजनिक जग्गा व्यक्तिका नाउमा नामसारी गर्न बाटो खोलिदिएको, विभिन्न मुद्दामा पैसा लिएर अभियुक्तलाई छाडेको लगायत उजुरी परेका छन् ।
सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि दोस्रो वरियतामा रहेका मिश्रलाई संवैधानिक परिषदले भदौ ७ गते सिफारिस गरेको थियो।
दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधशीको रोलक्रममा रहेका मिश्रलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको हो।
औपचारिक बैठक बस्नुअघि विपक्षी दलका नेता शेरबहादुर देउवाले परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोशी अस्वीकृत हुनुको कारण सोधेका थिए।मिश्र न्याय सेवाबाट जिल्ला, पुनरावेदन अदालत हुँदै चार वर्ष अघि सर्वोच्चका न्यायाधीश भएका थिए।
प्रतिक्रिया दिनुहोस्