काठमाडौं, २२ भाद्र । कञ्चनपुरमा बलात्कार पछि हत्या भएको निर्मला पन्तको हत्या प्रकरण अनुसन्धानमा प्रहरीकोे लापरवाही भएको निष्कर्ष उच्चस्तरीय छानविन समितिले निकालेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य कुरालाई छोडेर लापर्वाही गरेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुबाट गर्नुपर्ने काम नगरेर गर्न नहुने काम गरेको देखियोे ।’
छानविन समितिले प्रहरीले घटनाको शंकास्पद पाटोलाई बेवास्ता गर्दा आन्दोलनले गम्भीर रुप लिएको निश्कर्ष निकालेको छ । बिना कारण आन्दोलन नभएको भन्दै उनले भने, ‘हिजोको त्यो अवस्था त्यसै आएको होइन । त्यसमा प्रहरीको गंभिर त्रुटी देखिएको छ ।’ तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको सुक्ष्म अध्ययन गर्दा ठूलो कमजोरी देखिएकाले निलम्बन गरिएको हो । साथै अब अनुसन्धानमा खटिएका प्रहरीहरुसँग समेत सोधपुछ हुन्छ गल्ति भेटिए कारबाहीका लागि सिफारिस गर्ने उनले बताए ।
हत्याको विरोधको क्रममा भएको आन्दोलनमा समेत प्रहरीको बढी बल प्रयोग भएको छानविन समितिको निष्कर्ष निकालेको छ ।
छानविन समितिको म्याद आजै सकिने भए पनि ३र४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने संयोजक मैनालीले बताए । तर पन्ध्र दिनको म्याद आज सकिँदै गरेको भए पनि आवश्यकता अनुसार म्याद थप हने उनले भने ।
घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ । तर, प्रहरीको प्रभावकारी अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु भएपछि सरकारले छानविन समिति बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्