काठमाडौं, भदौ २१ । सातै प्रदेशका मुख्यमन्त्रीको भेला बिहीबार पोखरामा हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुन लागेको हो ।
विशेष गरी भेलामा मुख्यमन्त्रीहरुले कार्य सम्पादनमा देखिएका समस्या, ठूला आयोजना, परियोजना र अनुदानको विषयमा छलफल गर्ने छन् ।
भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर परिषद बैठक बस्दैछ । परिषदको अघि हुन लागेको सातै प्रदेशका मुख्यमन्त्रीको भेलालाई अर्थपूण रुपबाट हेरिएको छ । परिषदमा सातै प्रदेशको सामूहिक एजेण्डा बनाउने बारे छलफल हुने जनाइएको छ ।
प्रदेश सरकारको अधिकारको सवालमा संघीय सरकारबाट सहयोग नभएको भन्ने गुनासो गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बाले गर्दै आएका छन् ।
अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकारबाट सहयोग हुन नसकेको आरोप प्रदेशका मुख्यमन्त्रीको रहेको छ । भेलाले परिषदको बैठकमा सामूहिक रुपमा एजेण्डा तयार पारेर प्रस्तुत हुने गृहकार्य गरिरहेको छ ।
बिहीबार बिहान ९ बजेबाट होटल ग्राण्डमा हुने भेलाका लागि प्रदेश १, २, ३ का मुख्यमन्त्री पोखरा आइपुगिसकेका छन् भने प्रदेश ५, ७ र कर्णाली प्रदेशका मुख्यमन्त्री काठमाडौँ विमानस्थलबाट आउने तयारी भएको र मौसमका कारणले ढिलाइ भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्