दैनिक दुई दर्जन आन्तरिक उडान अब रातिको समयमा

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दैनिक दुई दर्जन आन्तरिक उडान रातिको समयमा सञ्चालन गर्न थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको प्रस्तावपछि निजी वायुसेवा बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले रात्रि उडान सुरु गरेका हुन् । यसबाट विमानस्थलमा भइरहेको दिउँसोको उडान चापमा कम गराउन धेरै नै सहयोग पुगेको छ ।

बुद्ध, यती र श्रीले साँझ ६ बजेदेखि राति ९ बजेसम्म काठमाडौंबाट विभिन्न गन्तव्यका लागि दैनिक २५ उडान सञ्चालनको स्वीकृति पाएका छन् । बुद्धले १४, यतीले ७ र श्रीले ४ उडान रातिको समयमा गर्नेछन् ।

काठमाडौंबाट विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा राति उडान हुन थालेको हो । ती सबै विमानस्थलमा रात्रि उडान सुविधा उपलब्ध छ ।
पाँचदेखि सात महिनाभित्र भद्रपुर र जनकपुर विमानस्थलमा पनि रात्रि उडान सुविधा मिलाउने गरी काम भैरहेको छ

काठमाडौंबाट जाने बुद्धका जहाज पोखरा र विराटनगरमा बस्नेछन् र भोलिपल्ट यात्रु लिएर फर्कने छन् । श्री एयरलाइन्सले भने नेपालगन्जका लागि नाइट स्टप गर्ने जानकारी दिएको छ ।

भदौ १६ बाट आन्तरिक टर्मिनल भवन बिहान ५ बजे खुल्न थालेपछि आन्तरिक उडान केही सहज भएको विमानस्थल व्यवस्थापनको भनाइ छ । त्यसअघि विमानस्थल बिहान ६ बजे खुल्थ्यो भने पहिलो आन्तरिक उडान साढे ६ बजे हुने गथ्र्यो । तर, अब भने पहिलो उडान अधिकतम ६ बजे हुन थालेको छ । यसबाट लुक्ला र माउन्टेन फ्लाइटमा सहज भएको छ ।

त्रिभुवन विमानस्थलमा बिहान ५ बजे खुल्ने गर्छ भने भोलिपल्ट बिहान ३ बजे बजे बन्द हुने गर्छ । हाल दैनिक २ सय आन्तरिक र अधिकतम ८० अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्