सत्तारुढ दलका सांसदले भने-सरकार चौतर्फी घेराबन्दीमा पर्यो अब गम्भीर नबनेर भएन !
काठमाडौँ । सत्तारुढ दलका सांसदले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमनचयनका लागि सरकारले हरसंभव प्रयास गरिरहेका बेला सरकारमाथि नै सबै प्रकारका घेराबन्दी भइरहेको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।
विकास निर्माण लगायत काममा पनि सरकार अघि बढीरहेका बेला संघीयता नै खतरामा पार्ने गरि विभिन्न क्षेत्रबाट सरकारलाई घेराबन्दी गर्ने काम भइरहेको उनको दाबी थियो ।
सरकारमाथि भइरहेका विभिन्न किसिमका घेराबन्दीले आफूलाई १७ साल देखिको राजनितिक इतिहासको सम्झना आएको भन्दै उनले मुलुकी फौजदारी दण्डसंहिता स्वास्थ्यकर्मीको कसुरको सम्बन्धमा मुलुकभर स्वास्थ्य सेवा बन्द गरिएको तर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।
शून्य समयमा बोल्ने अन्य सांसदहरुले आ–आफ्नो क्षेत्रको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद अतहर कमाल मुसलमानले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सम्पन्न गरि अलपत्र अवस्थामा रहेको लुम्बिनी देखि भैरहवा विमानस्थल हुदै कृष्णनगर सम्म जोड्ने हुलाकी सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद आशा कुमारी विकले बझाङ जिल्लाको एउटा नगरपालिका र ७ गाउँपालिकामा अझै पनि बैकिङ सु्विधा नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद उमा रेग्मीले राष्ट्रिय पोशाकका रुपमा पुरुषलाई दौरा सुरुवाल र महिलालाई साडीको व्यवस्था सरकारले अचानकै हटाएको भन्दै राष्ट्रिय पोशाक कायम गर्न माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्