बलात्कार प्रयास गर्ने एकजना पक्राउ, बलात्कार गरी फरार कुँवर पनि गिरफ्तार

काठमाडौं । कैलालीमा दुई बालिकालाई बलात्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । त्यस्तै, अर्की एक बालिकालाई बलात्कार गरी फरार अर्का एक जना पनि पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–६, जालीमा बलात्कारको प्रयास गर्ने स्थानीय २२ वर्षीय अनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले दुईजना बालिकालाई बलात्कारको प्रयास गरेको बताइएको छ ।

१३ र १४ वर्षीया दुई बालिका बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । स्थानीयहरूको सूचना लगत्तै वडा प्रहरी कार्यालय धनगढीका इञ्चार्ज प्रहरी निरीक्षक वकिलबहादुर सिंहको कमाण्डमा गएको प्रहरी टोलीले अनिललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेका अनुसार एक बालिका नुहाइरहेको अवस्थामा सँगै बसिरहेकी अर्की बालिकालाई अनिलले खाना लिन पठाएर नुहाइरहेकी बालिकालाई बलात्कार गर्न खाजेका थिए । बालिका चिच्याएपछि अनिलले अर्की बालिकालाई समेत बलात्कारको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिका–६ बछुरियाकी १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेका सोही ठाउँका ३३ वर्षका हर्क कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । १३ गते राति घरमा कोही नभएको मौका छोपी आफ्नै साथीकी छोरीलाई बलात्कार गरेको आरोप लागेका कुँवर सोही रातीदेखि फरार थिए ।

उनलाई आफन्तकोमा लुकिछिपी बसिरहेको अवस्थामा आईतबार साँझ लम्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । कुँवरलाई राति नै धनगढी ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्