ब्राजिलको २ सय वर्ष पुरानो संग्रहालयमा भीषण आगलागी

काठमाडौं । ब्राजिलको २ सय वर्ष पुरानो राष्ट्रिय संग्रहालयमा भीषण आगलागी भएको छ । रियो दी जनरियोमा रहेको देशको पुरानो वैज्ञानिक संस्थामा आइतबार आगलागी भएको हो ।

२० लाखभन्दा बढी पुरातात्विक महत्त्वका वस्तुहरु संग्रहित सिंगो भवन भरी नै आगो फैलिएको छ ।

ब्राजिलका टेलिभिजनहरुले देखाइरहेको दृश्यमा भवनभर फैलिएको आगो नियन्त्रणका लागि अग्नी नियन्त्रणकहरुले प्रयास गरिरहेको देखिन्छ ।

आगलागीमा कोही घाइते भएका छन् या छैनन् भन्नेबारे अहिलेसम्म केही पनि प्रष्ट भएको छैन ।

आगो संग्रहालयको सेवा बन्द गरेपछि शुरु भएको अनुमान गरिए पनि त्यसको कारण खुलेको छैन ।

यो वर्ष मात्रै २०० औं वर्षगाँठ मनाएको संग्रहालयमा कुनै बेला पोर्चुगिज राजपरिवार बसेका थिए ।

ब्राजिलका राष्ट्रपति मिचेल टेमरले एक ट्वीट गर्दै संग्रहालयमा आगलागी भएको दिन सिंगो ब्राजिलियनका लागि दुःखको दिन भएको बताएका छन् । उनले ट्वीटमा ब्राजिलको इतिहासको मूल्यमापन गर्न नसकिने उल्लेख गरेका छन् ।

संग्रहालयका एक निर्देशकले ब्राजिलको टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आगलागीलाई सांस्कृतिक त्रासदी भनेका छन् ।

संग्रहालयको वेबसाइटमा उल्लेख भएअनुसार संग्रहालयमा संग्रहित लाखौं वस्तुहरुमा ब्राजिलको इतिहाससँग सम्बन्धितसँगै मिश्रका कलाकृतिहरु समेत थिए ।

प्रतिक्रिया दिनुहोस्