नाइजेरियामा बोको हरामसँगको युद्धमा ३० सैनिकको मृत्यु

काठमाडौं ।  नाइजेरियाको सीमाक्षेत्रनेरको पूर्वोत्तर भागमा एक सैन्य शिविरमा बोको हरामका आतंकवादीहरूसँग युद्ध गर्दा कम्तीमा ३० नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।

शनिवार सेनाका दुई सूत्रले यो जानकारी दिए ।

उत्तरी बोर्नो राज्यको जरी गाउँमा बिहीवार राति सैन्य शिविरमा सयौं जिहादीले आक्रमण गरेका थिए र भयंकर भिडन्तपछि त्यहाँका केही भागमा कब्जा गरे ।

सेनाका एक अधिकारीले भने, ‘उनीहरू ठूलो संख्यामा ट्रक चढेर आए र उनीहरूसँग भारी हतियार थियो । एक घन्टासम्म उनीहरू सैनिकसँग भिडे । यसमा परेर हाम्रा ३० जवान मारिए ।’

नाम नछाप्ने शर्तमा एक अधिकारीले त्यहाँका सैनिकहरूलाई सहायता पु–याउनुअघि नै केही समयका लागि उनीहरूले सैनिकलाई लखेटे ।’

बोको हरामले विगत केही महिनादेखि सेनामाथि आक्रमण बढाएको छ ।

जिहादीहरूले जानुअघि सेनाको हतियार र अन्य सामान पनि लुटेर लगे । सेनाले उनीहरूमाथि बम आक्रमण गरेको र त्यसले गर्दा बोको हरामलाई धेरै नोक्सानी परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्